images
images

स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आफ्नो छोरीकाे नाम राख्दा महानगरका तीन जना कर्मचारी निलम्बित

  • १७ पुष २०८०, मंगलवार १८:४१
images

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ।

महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार निलम्बन गरेको हो।

कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोपमा उनीहरूलाई निलम्बन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ।

घटनाको छानबिनका लागि सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा समिति गठन गरिएको छ। उक्त समितिमा कानुन सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल छन्।

छानबिन प्रतिवेदनको सुझावअनुसार उनीहरूमाथि कारबाही गरिने छ।