भक्तपुर। ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरले एकजना विरामीको मृत्युको विषयलाई लिएर अस्पतालबारे भ्रम सृजना गरेको जनाएको छ ।
अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले विहीबार विज्ञप्ति प्रकाशित गरी अस्पतालबारे भ्रममा नपर्न सवैसँंग अनुरोध गरेको छ ।
भक्तपुर नगरपालिका वडा नं ८ निवासी सुश्री नितु दुवालको झण्डै दुई महिना अगाडि पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको थियो । तर उनको निधनबारे उनकी आमा, बुवा र दिदीले सामाजिक संजालमा कार्तिक १४ गते लेखेका कुराहरुले समाजमा ख्वप अस्पतालबारे भ्रम सिर्जना गरेको हुँदा दुःख लागेको विज्ञप्तिमा जनाइएको छ ।
‘ख्वप अस्पताल परिवार २१ वर्षकी नितु दुवालको कलिलो उमेरमा निधन भएकोमा दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘शोकाकुल परिवारका लागि यो एक अपूरणीय क्षति हो । मृतक आत्माको चिर शान्तिको कामना गर्दै गर्दा समाजमा ख्वप अस्पतालबारे केही नकारात्मक भ्रम फैलाउन खोजिएको हामीलाई महसुस भयो । ‘
‘नितु दुवाल २०८० साल श्रावण २१ गते ख्वप अस्पतालबाट रिफर भई उपचारको क्रममा भाद्र ३१ गते अन्य अस्पतालमा मृत्यु हुदाFसमेत यस अस्पतालमा मृत्यु भएको भनी गलत प्रचार गर्नुबाट यो नियोजित हो भन्ने स्पष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
बिरामीको निधनमा दुःख हुदाँहुदै पनि विभिन्न व्यक्तिहरुको उक्साहटमा अस्पतालप्रति जनतामा भ्रम सिर्जना गर्ने उद्धेश्यले ख्वप अस्पताललाई दोष दिन खोजिएको विज्ञप्तिमा जनाइएको छ । ‘औषधिको बढी डोज दिइएको, गलत औषधि दिइएको भन्ने कुरा सत्य होइन,’ विज्ञप्तिमा उल्लेख छ ।