काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ ।
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले प्रतिष्ठानले स्तन क्यान्सरविरुद्धको मेटास्टेटिक (चौथो स्टेज)को हार्मोन पोजेटिभ भएका बिरामीलाई राइबोसिक्लिब लेट्रोजोल भन्ने ट्याब्लेट स्तन क्यान्सरका बिरामीलाई निःशुल्क उपलब्ध गराउन थालेको जानकारी दिनुभयो ।
अस्पतालबाट अहिलेसम्म चार जनाले सेवा लिइसकेका छन् । डा.शाहीका अनुसार यी औषधिहरू मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै प्रभावकारी छन् ।
किमो थेरापीको विकल्पमा स्तन क्यान्सर भएकालाई यो औषधि दिइने उहाँले जानकारी दिनुभयो ।
पाटन अस्पतालले म्याक्स फाउन्डेशनको सहयोगमा यस अघि पनि फोक्सोको केही प्रकारको क्यान्सर, रगतको क्यान्सर, पेटको एक किसिमको क्यान्सर र मिर्गौला लगायतको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेकाहरूका लागि ‘टार्गेटेड थेरापी’ अन्तर्गत विश्वस्तरीय औषधि निःशुल्क उपलब्ध गराउर्दै आएको छ ।