काठमाडौं । भूकम्प प्रभावित क्षेत्रका घाइतेको उपचारमा सहयोग गर्न नेपाल तरुण दलले रक्तदान गरेको छ ।
सोमबार काठमाडौंको भृकुटीमण्डपमा तरुण दलले रक्तदानको कार्यक्रम आयोजना गरेको हाे ।
अध्यक्ष विद्वान गुरुङले भूकम्प प्रभावित क्षेत्रका घाइतेहरूको उपचारमा रगत अभाव नहोस् भनेर रक्तदान गरिएको बताए ।
अध्यक्ष गुरुङले रक्तदाताहरूलाई धन्यावाद समेत दिएका छन् । उनले घाइतेले उपचार गराइरहेका अस्पतालमा रगतको अभाव भएमा रक्तदान गरेर जीवन बचाउन तरुणहरूसँग अनुरोध पनि गरेका छन् ।
तरुण दलको रक्तदान कार्यक्रममा एक सयभन्दा धेरैले रक्तदान गरेका छन् ।
यसैबीच, तरुण दलले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणका लागि नगद संकलनको कार्य पनि गरेको छ ।