कञ्चनपुर। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ ।
भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ ।
हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए ।
हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना संक्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ ।
“भेरिएन्ट एकिन गर्न नौ जनाको नमुना काठमाडौं पठाएका छौँ,” उनले भने, “दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।”
कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।