केही बालबालिकामा बाल्यकालमा औँला चुस्ने बानी हुन्छ। यो बानी बालबालिकाका लागि सामान्य हो । कतिपय औँला चुस्ने बच्चाका अभिभावकलाई यो ठूलो चिन्ताको विषय हुन्छ । किनकि, यही बानीका कारण कैयौँ शारीरिक समस्या पनि निम्तिन सक्छ । बालबालिकाले औँला चुस्ने विभिन्न कारण हुन्छन् ।
बालबालिका भोकाइरहेका हुन्छन्, तर यो कुरा अभिभावकलाई थाहा नहुन पनि सक्छ । भोकाएको अवस्थामा दूध वा कुनै खानेकुरा नमिलेको अवस्थामा बालबालिकाले आफ्ना औँला चुस्न सुरु गर्छन् ।
कहिलेकाहीँ सुरक्षा पाउन पनि बालबालिकाले औँला चुस्ने गर्छन् । यदि लामो समयसम्म आफ्ना आमाबुबालाई वरिपरि नभेटेमा उनीहरूले असुरक्षाको महसुस गर्छन् । आमाबुबाबाट माया नपाउँदा पनि बालकालिकाले औँला चुस्ने गर्छन् ।
ठूला मानिसलाई मात्र तनाव हुन्छ भन्ने सोच्नुहुन्छ ? यदि यस्तो सोचिरहनुभएको छ भने गलत हुनुहुन्छ । जब तनाव हुन्छ, तब मानिसमा भोक मरेर जान्छ । कतिपयलाई तनावको अवस्थामा अझ बढी भोक लाग्ने गर्छ । बालबालिकामा पनि यस्तो स्थिति आउँछ । जुन कुनै वेला बालबालिका तनावमा हुन सक्छन् । त्यति वेला बालबालिकाले कुनै न कुनै प्रकारको खाना खोज्न सक्छन् । अनि कुनै खानेकुरा नभेट्दा उनीहरूले औँला चुस्ने गर्छन् । तर उनीहरूको यस्तो लतलाई समयमै छुटाउन नसके यसले गलत परिणाम पनि ल्याउन सक्छ ।
चिकित्सकका अनुसार सामान्यतया ३ वर्षसम्मका बालबालिकामा औँला चुस्नु सामान्य कुरा हो तर ५ वर्ष पुगेपछि पनि बालबालिकाको औँला चुस्ने बानी अनौठो लाग्नुका साथै स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । यस्तो अवस्थामा केही उपायको सहायताले बालबालिकामा औँला चुस्ने बानीबाट सजिलै छुटकारा पाउन सकिन्छ । बढ्दो उमेरसँगै औँला चुस्ने बानीले बालबालिकाको स्वास्थ्यमा धेरै साइड इफेक्ट निम्त्याउन सक्छ। ५ वर्षपछि औँला चुस्दा बालबालिकामा स्वास्थ्यसम्बन्धी धेरै समस्या आउने डर हुन्छ । यी सजिलो उपायहरू अपनाएर तपाईं आफ्ना बालबालिकालाई औंला चुस्ने बानीबाट मुक्त गर्न सक्नुहुन्छ।
जब बालबालिकाले एक्लो महसुस गर्छन् अनि औँला चुस्न सुरु गर्छन् । त्यसैले सकेसम्म लामो समय बच्चाको साथमा बिताउने प्रयास गर्नुपर्छ । कहिलेकाहीँ टाउको पनि हल्लाइदिनुपर्छ ताकि बालबालिकाले मुखमा औँला हाल्नबाट बचोस् ।
छोटो–छोटो समयमा तपाईंले आफ्ना बालबालिकालाई कुनै न कुनै खानेकुरा दिनुपर्छ । उनीहरूको उमेरअनुसार फलफूल, दूधलगायतका खाद्यपदार्थ दिन सकिन्छ ताकि बच्चाको पेट भरिएर मुखमा औँला राख्न छोडोस् ।
बच्चाको औँलामा कागती र निमको रसको पेस्ट बनाई दलिदिन पनि सक्नुहुन्छ । यसको स्वाद नमिठो हुने भएकाले बच्चाले मुखमा औँला राख्ने बानी छुटाउन सक्छ ।
यदि तपाईंको बच्चाले पटक–पटक मुखमा औँला राख्ने गर्छ भने उनीहरूलाई कहिल्यै पनि रिसाएर गालि नगर्नुहोस बरु तपाईं बच्चाहरूलाई औंला चुस्नुको नराम्रो परिणामहरूको बारेमा भनेर सचेत गराउन सक्नुहुन्छ। जब तपाई उनीहरुलाइ औंला चुसिरहेको देख्नुहुन्छ, उनीहरुलाई भन्नुहोस् कि यसले पेटमा कीरा निम्त्याउन सक्छ र यो डरका कारण बालबालिकाले यसो गर्न छोड्छन् ।