काठमाडौं । दूर दराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै आएका काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक डाक्टर सुनिलकुमार शर्माले शिक्षामन्त्री अशोक कुमार राईले पदको दुरुपयोग गरेको भन्दै कानुनी उपचारको बाटो खोजी गर्ने बताएका छन् ।
आवासीय चिकित्सक डा.विशद दाहाललाई कलेजको नियम विपरित कार्य गरेकोमा निलम्बन गरेको विषयमा शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गरेकोमा पदको दुरुपयोग गरेको भन्दै डा.शर्माले कानुनी उपचारमा जाने बताएका हुन् ।
‘आचरण विपरित कार्य गरेका एक जना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु गर्नु हास्यास्पद र लज्जास्पद विषय हो । शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन ।’ मन्त्री राईको निर्देशनात्मक पत्र विरुद्ध आफूहरू अदालत जाने भन्दै डा.शर्माले भने,‘एउटा विद्यार्थीले आचरण विपरित कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैं सक्रिय हुन्छन् भने त्योभन्दा लज्जास्पद र हास्यास्पद के हुन सक्छ ।’ शिक्षामन्त्री राईले मंगलबार निलम्बित विद्यार्थी डा. दाहालको निलम्बन फुकुवा गर्न भन्दै निर्देशनात्मक पत्र पठाउँदा २ दिनअघि सोमबार शिक्षा मन्त्रालयमै विवाद समाधानका लागि सकारात्मक वार्ता भएको थियो ।
उक्त वार्तापछि समाधानको वातावरण बनिरहेको अवस्थामा शिक्षामन्त्रीले पत्र काट्दा वातावरण विग्रिएको डा. शर्माको भनाई छ ।