images
images

मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक: प्रधानमन्त्री

  • २३ आश्विन २०८०, मंगलवार १४:४४
images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ । उहाँले समावेशी एवम् समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले आज (मङ्गलबार) विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिनुहुँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरू अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

“मानसिक बिरामी पनि अन्य सामाजिक रोगी जस्तै हुन् । त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरूलाई सम्मानजनक व्यवहार गरौँ”, उहाँले भन्नुभयो ।

मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक छ ।” उहाँले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरूपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिकरुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता प्रचलनहरू अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन् ।”

उहाँले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गर्नुभयो ।