
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन् ।
आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् ।
छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढंगले काम अगाडि बढाउन निर्देशन दिए ।
प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुबै बढाउनुपर्ने बताए ।
छलफलमा लिमिटेडका अध्यक्ष न्यौपानेले लिमिटेडले १० प्रकारका औषधिहरू उत्पादन गरिरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।