काभ्रे । काभ्रेपलाञ्चोकको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गी सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो।
सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ। यसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित हुन्।
यस्तै धुलिखेल नगरमा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेङ्गी सङ्क्रमित रहेका छन्। मण्डनदेउपुर नगरमा सात, रोशी गाउँपालिकमा सात पाँचखाल नगरमा छ, पनौती नगरमा चार तथा भुम्लु, तेमाल, खानीखोला, चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक/एक जना सङ्क्रमित रहेको कार्यालयका निमित्त प्रमुख राजारम अधिकारीले बताए। उनका अनुसार केही दिन डेङ्गु सङ्क्रमण बढ्नसक्ने अनुमान गरिएको छ।
सङ्क्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।
पानी जम्ने ठाउँ, उद्योग, कलकारखाना, होटेल तथा व्यवसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामाग्री, मठ, मन्दिरमा रहेका कतराजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ।