
चितवन । चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये अहिलेसम्म १४ जनाको शव भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अहिलेसम्म भेटिएका मध्ये ७ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको छ ।
पहिचान खुलेका सबै शव चितवनको भरतपुर अस्पताल पठाइएको र बाँकी शवको पहिचान खुलेपछि भरतपुर पठाइने प्रहरीले जनाएको छ ।
सिमलताल पहिरोमा परेर हराएको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्सको बसमा कम्तिमा २७ जना र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्समा कम्तीमा ३८ यात्रु रहेको चितवन प्रशासनले जनाएको छ ।