सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेष्ठ ३ गते साँझ लागुऔषधको ओसारपसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको हाे ।
रामधुनी-६ स्थितमा सप्तकोशी नगरपालिका-५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र ईटहरी उप-महानगरपालिका-५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरेकाे प्रहरीले जनाएकाे छ । घटना पश्चात प्रहरीले गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
गोली लागी घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भई रहेको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।