images
images

हुक्का स्वास्थ्यको कति लागि हानिकारक छ?

  • ६ फाल्गुन २०८०, आईतवार १२:१०
images

परापूर्वकालदेखि नै मानिसले हुक्का पिउने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन् । त्यसबेला ग्रामीण क्षेत्रमा यसको प्रयोग बढी हुन्थ्यो । मानिसले हुक्कामा सुर्ती हालेर पिउने गर्दथे तर पछिल्ला केही वर्ष यता सहरमा हुक्काको प्रचलन बढेको छ । चुरोट जस्तै यसमा निकोटिन र टार पनि हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । निकोटिनको उपस्थितिले गर्दा यो चुरोट जस्तै लत बन्न जान्छ यही कारण हुक्का सेवन गर्नेको संख्या लगातार बढिरहेको छ । उहिले बूढापाकाको अम्मल थियो हुक्का पाहुनाको सत्कारमा एक चिलिम तमाखु टक्य्राउने चलन पनि थियो तर अहिले हुक्का फेशन भएको छ।

राजधानीका प्राय: रेष्टुरेन्टको मेनुमा लेखिएको हुन्छ ‘हुक्का। निकोटिन नहुने र स्वास्थ्यलाई असर नपर्ने भन्दै युवायुवतीको सर्कल हुक्काको लतमा फसेका छन् । शहरबजारका रेस्टुरेन्टहरूले विभिन्न सुगन्धका हुक्का उपलब्ध गराएका छन्। ‘हुक्काले हानि गर्दैन, यो चुरोटजस्तो होइन,’ भन्ने जस्ता भ्रम फैलाइएका छन् र त, चुरोट नखानेहरू पनि हुक्कातिर तानिएका छन् तर सत्य के हो भने हुक्का स्वास्थ्यका लागि चुरोटभन्दा कम्ती घातक हुँदैन। जानकारहरू यसलाई ‘दुर्व्यसनको दैलो’ भन्न पछि पर्दैनन्, किनभने यसले प्रयोगकर्तालाई ड्रग्ससम्म पुर्या’उन सक्छ। अधिकांश पारखीले यसलाई फेशनका रूपमा लिएका छन्। आकर्षक डिजाइनमा निर्मित हुक्का अघि राखेर साथीहरूसँग गफ गर्दै खाजा/खाना खानेहरुको कमि छैन । हुक्कामा युवाको आकर्षण बढ्नुको मुख्य कारण भनेकै यसको स्वाद हो किनभने, हुक्कामा स्वादिला फ्लेभर प्रयोग गरिएका हुन्छन्।

धूम्रपान स्वास्थ्यका लागि हानिकारक ठान्नेले सानका रूपमा हुक्का प्रयोग गरेको पाइन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २००५ मा गरेको अध्ययनले पानीबाट धुवाँ गुज्रँदै आए पनि त्यसले सुर्तीमा हुने निकोटिन छान्न नसक्ने प्रमाणित गरिसकेको छ। निकोटिन पनि सेवन गरिने भएकाले यसले धूम्रपानको लत बसाउने अत्यधिक सम्भावना रहन्छ। डब्लूएचओ का अनुसार एक घण्टा हुक्का तान्दा प्रयोगकर्ताले एउटा चुरोटको धुवाँभन्दा सय गुना बढी धुवाँ पान गर्छ। धेरैले पानीबाट आउने भएकाले त्यो धुवाँ नभएर बाफ ठान्ने गरेका छन्।

हुक्कापारखीमा अर्काे ठूलो भ्रम पनि छ– हर्बल हुक्का स्वास्थ्यका दृष्टिले फाइदाजनक छ। तर, अध्ययनले यो झन् खतरनाक भएको देखाएको छ। हर्बल सिसामा झनै धेरै हानिकारक टार र निकोटिन उत्पादन भइरहेको हुन्छ। मुख्य भ्रम भनेको हुक्काले स्वास्थ्यलाई हानि गरे पनि चुरोटको भन्दा चाहिँ कम गर्छ भन्ने हो। हुक्काको लामो समयसम्म सेवनले शरीरमा धेरै प्रकारको क्यान्सर निम्त्याउन सक्छ यसको सेवन धुम्रपान जस्तै खतरनाक साबित हुन सक्छ। स्वास्थ्य विज्ञहरुका अनुसार हुक्का पिउनाले धुवाँ शरीरमा प्रवेश गर्छ, जसले फोक्सोमा संक्रमण गराउँछ  यसले दमको समस्या निम्त्याउन सक्छ। केही अवस्थामा, हुक्काले हृदय रोग र हृदय धमनीहरू अवरुद्ध हुन सक्छ। हुक्कामा प्रयोग हुने केही स्वादले पनि क्यान्सर गराउन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार एउटै हुक्काको धुम्रपान धेरैले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा विभिन्न किसिमका ब्याक्टेरियाजन्य रोग सर्ने जोखिम हुन्छ ।