काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सार्वजनिक विद्यालयका शौचालयहरु अहिले टिलिक्क भएका छन् । शौचालयसँगै विद्यालयमा भएका भान्छा कोठाहरु पनि सफा भएका छन् ।
विद्यालयका शौचालयमा गाढा फोहर जम्मा भएको, दुर्गन्धित भएको, भान्छा कोठामा चिल्लो भएको अवस्था थियो । यो अवस्थाले वालवालिकाको वातावरणीय चेत र वातावरणीय सिकाइमा असर पर्ने भएपछि महानगरपालिकाले सूचकसहितको अनुदान रकम उपलब्ध गराएर ‘सुन्दर विद्यालय’ स्वर्णिम योजना र ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको स्वच्छता र सरसफाइ तुलना योग्य अवस्थामा रुपान्तरण भएको हो ।
वातावरण, स्वच्छता र सरसफाइका विषय बुझाउन व्यवहारिक र प्रयोगात्मक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य राखेर महानगरपालिकाले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा ‘वालवालिका र वातावरण – वावा’ उपसमूहको नेतृत्वमा विद्यार्थीहरुले वातावरणीय सुधार, व्यवस्थापन र संरक्षणमा व्यवहारिक ज्ञान र सिप प्राप्त गर्छन् । विद्यालय परिसर कलात्मक तथा हरियाली बनाउँछन् । सफा र स्वच्छ बनाउँछन् । कार्यक्रमबाट अपेक्षित दीर्घकालीन नतिजा हो ।
यो अवस्थाले विद्यार्थीहरुमा स्वच्छता, सरसफाइ, वातावरण तथा प्राकृतिक सुन्दरताको गहिराइ बुझ्न प्रयोगात्मक कार्यशालाको अभ्यासमा अभ्यस्त हुन थालेका छन् ।