काठमाडौँ । साउदी अरेबियाको मक्कामा गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ ।
एपीएफको रिपोर्टका अनुसार हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भएको छ ।
जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । रिपोर्टका अनुसार मृत्यु हुनेमा इजिप्टपछि जोर्डन, इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीहरु रहेका छन् ।
साउदी अरेबियाका अधिकारीहरुका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।
अघिल्लो वर्ष २४० हज यात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए । साउदीले सबै यात्रुलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरुलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।