images
images

एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक

  • ९ फाल्गुन २०८०, बुधबार १३:५३
images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा आजदेखि रोक लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो ।

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि (२०७९ बैशाख १६ गते) पत्राचार गरेर ९ बुँदे सुधारका सुझाव दिइएको थियो । फोहोरको रेकर्ड राख्न, बिनहरुमा लेभल राख्न, फोहोर वर्गीकरण गर्न, बिसर्जन पूर्व संक्रमण भएको फोहोरलाई अटोक्लेभ गरेर संक्रमणरहित बनाउन, वातावरणीय अध्ययन गर्न त्यसबेला दिइएका सुझाव थिए ।

यसरी सुझाव दिएको आउने बैशाखमा २ बर्ष पुग्दैछ । यति लामो अवधिसम्म पनि सुधारका कुनै संकेत देखिएका छैनन् । अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ्ग संकेत ख्याल गरिएको छैन । ढुवानीका लागि ट्रलीहरुको प्रबन्ध छैन । संकलित फोहोर भण्डारण व्यवस्थापन भएको छैन । संक्रमणयुक्त फोहोर निर्मलीकरण गर्ने ठाउँमा पुग्ने बाटो साँधुरो छ । त्यही ठाउँमा अन्य संरचना बनाउँदै गरेका कारण खडल बनाएर पुग्न नै कठिन छ । भएको मेसिन पनि चलेको छैन । यसप्रकारका लापर्वाही देखिएपछि फोहोर संकलन कार्यमा रोक लगाइएको हो ।

अनुगमनमा क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो, ‘स्वास्थ्य संस्थाजन्य हानीकारक फोहोरले मानव तथा प्राणी स्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्छ । यसकारण अस्पतालबाट निस्कने हानीकारक फोहोर व्यवस्थापनमा सानातिना त्रुटि पनि स्वीकारिँदैन ।’