images
images

च्याउ खानुको फाइदाहरु

  • १२ बैशाख २०८१, बुधबार १२:२४
images

एक किम्बदन्ती अनुसार परापुर्वकालदेखि बाहुनले च्याउ खानुहँदैन भन्ने भनाई थियो तर, अहिले उखान टुक्कामा बाहुनले च्याउ खाओस् न च्याउको स्वाद पाओस् भन्ने भनाइृ प्रचलित छ । च्याउका परिकार निकै स्वादिलो हुने कुरामा दुइमत छैन । च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । च्याउ औषधिय गुणले भरिपूर्ण साकाहारी परिकार हो । च्याउको परिकार शाकाहारी र मांसाहारी दुवैले उत्तिकै रुचाउँछन् । यसमा अरू तरकारीको तुलनामा पोषक तत्त्व बढी पाइन्छ ।
खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ ।
च्याउ फाइबर, प्रोटिन, भिटामिन सी, फोलेट, आइरन, जिंक र म्यांगनिजको राम्रो स्रोत हो । कुनै पनि एउटा खाने कुरा त्यसमा स्वास्थ्यका लागि के तत्व पाइन्छ भन्ने कुराले महत्वपूर्ण हुनेगर्छ । च्याउ त्यस्तै महत्वपूर्ण खानेकुराभित्र पर्दछ । दैनिक खानामा विभिन्न रङ्गीविरङ्गी फलफूल र तरकारीका साथमा कहिलेकाही रङहीन च्याउलाई पनि समावेश गर्नुपर्छ ।
च्याउ खानुको फाइदाहरु
रोगप्रतिरोधक क्षमता बढाउन
च्याउले सरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । यसमा एर्गोथियोनाइन नामक एन्टी अक्सिडेन्ट पाइन्छ । यसले छालालाई फ्री रेडिकल्सबाट बचाउनुका साथै इम्युनिटी पावर पनि बढाउँछ । यो एक प्रकारको एमिनो एसिड हो र यसमा हुने सल्फर सरीरका लागि हरेक किसिमले फाइदाजनक हुन्छ ।
मोटोपन हटाउन
मोटोपन हटाउन चाहने व्यक्तिहरूले प्रोटीनयुक्त आहार लिनुपर्छ र च्याउमा भरपूर प्रोटीन हुन्छ । तौल घटाउनका लागि च्याउ राम्रो विकल्प हो । प्रोटिनयुक्त भोजन भएकाले च्याउको सेवनले सरीरलाई हृष्टपुष्ट बनाउनुका साथै वजन समेत नियन्त्रण गर्दछ । यसमा पर्याप्त फाइबर पाइन्छ ।
क्यान्सरबाट बचाउ
नियमित च्याउ सेवन गर्नाले क्यान्सर बाट समेत बच्न सकिन्छ । च्याउमा भएको एक प्रकारको विशेष तत्वले हाम्रो शरिरको कोष तथा तन्तुहरु विशेष संरक्षण गर्नुको साथै क्यान्सर जन्य ट्युमरसँग लड्ने विशेष क्षमता हुने गर्दछ।
मुटु राम्रो बनाउन
च्याउमा प्रोटिनसँगै भिटामिन इ तथा सेलेनियम लगायतका सुक्ष्म पोषक तत्व पनि पाइन्छन् । यसले छाला तथा कपालको स्वास्थ्य सँगै मुटुरोगको जोखिम पनि कम गर्छ । च्याउमा प्रसस्त मात्रामा ‘पोटासियम’ पनि हुनेगर्छ । पोटासियम धेरै पाइने र सोडियम थोरै पाइने भएकाले मुटुरोग र रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ ।
मधुमेहमा फाइदा
धुमेह नियन्त्रणका लागि पनि च्याउ सहायक सिद्ध हुन्छ । च्याउ बोसो, कोलेस्ट्रोल तथा उच्च प्रोटिनको नियन्त्रणका लागि उपयोगी हुन्छ । यसले प्राकृतिक इन्सुलिन तथा इन्जाइमको रुपमा काम गर्दछ । त्यसैले मधुमेहका रोगीले यसको सेवन गर्नु ठीक हुन्छ । यसले इन्सुलिन निर्माणमा सहायता गर्छ ।
रक्ताल्पता हटाउन
च्याउ रक्ताल्पता हटाउनका लागि राम्रो विकल्प हो किनकि यसमा फोलिक एसिड प्रचुर मात्रामा हुन्छ । यसमा भएको फलाम र फोलिक एसिडले हेमोग्लोबिनको स्तर सामान्य राख्छन् । यसबाट रक्ताल्पता हट्छ । च्याउमा आइरन तत्व पर्याप्त मात्रामा पाइन्छ जसको ९० प्रतिशत सरीरले लिन सक्दछ । यसले सरीरमा रक्तअल्पताको समस्या समाधानमा सहयोग गर्दछ ।
पेटको समस्याबाट मुक्ति
फाइबररहित आहार लिँदा अपच र कब्जियतको समस्या हुन्छ तर ताजा च्याउ खाँदा यस्ता समस्याहरू हट्छन् किनकि च्याउमा फाइबर हुन्छ ।
जोर्नी समस्या
च्याउ क्याल्सियमको निकै राम्रो श्रोत हो जुन हड्डीको विकाश तथा मजबुतीका लागि जरुरी हुन्छ । च्याउको नियमित सेवनले उमेर बढेसँगै लाग्ने ओस्टियोपोरोसिस, जोर्नी दुख्ने जस्ता समस्या कम हुन्छन् ।

च्याउमा अत्यधिक मात्रामा प्रोटिन तथा फाइबर हुने गर्दछ । साथै च्याउमा भिटामिन बी तथा शक्तिशाली सेलेनियम नामक तत्व हुने गर्दछ जसले हाम्रो शरीरको प्रतिरक्षा प्रणलीलाई मजबुत बनाउनुको साथै कोष तथा तन्तुहरुलाई क्षयीकरण हुन बाट समेत बचाउछ् ।

सामान्यतया च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्छ तर सही च्याउ खाइएन भने अनेकौं रोग लाग्छ । धेरै च्याउ खायो भने एलर्जी हुन्छ । च्याउका केही प्रजातिहरू विषालु हुन्छन् । यस्ता विषालु र कच्चा च्याउ खाँदा एलर्जी, दम, उल्टी, मतिभ्रम, बेहोशी र वाकवाक लाग्ने समस्या हुन्छ । त्यसैले च्याउ किन्दा सावधानी अपनाउनुपर्छ । त्यसतै सबै च्याउ खानयोग्य भने हुँदैनन् । कतिपय च्याउमा मानव शरीरलाई हानी पुर्‍याउने विषालु तत्व पनि पाइन्छ । विशेषगरी, जंगली च्याउ खाँदा वा टिप्दा ध्यान पुर्‍याउनुपर्छ ।