
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।
बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो ।
महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेकाे थियाे ।
२०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. AL/YL23 का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाएकाे थियाे ।
नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए । रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।