काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग गरेकी छन्।
बिहीवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरूलाई शान्तिक्षेत्र घोषणा गर्न माग गरेकी हुन्।
उनले विभिन्न समयमा स्वास्थ्यकर्मीहरूमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान शुरु गर्नुपर्ने माग गरिन्।
कार्कीले भनिन्, ‘जसरी सुरक्षाकर्मीहरूमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया शुरु हुन्छ। त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन्। उपचार गर्ने व्यक्ति हुन्। उनीहरूलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया शुरु गर्नुपर्छ।’