
काठमाडौँ । पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन महानगरपालिकाले आग्रह गरेको छ । बर्खा याममा खानेपानीसँग दुषित पानी मिसिन सक्ने सम्भावना छ ।
पानीकै कारण खानेकुरा दुषित हुने उत्तिकै सम्भावना छ । यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम भएकोले पिउने पानी र खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको हो ।
हैजा र यसले ल्याउन सक्ने जनस्वास्थ्य तथा वातावरणीय जोखिम घटाउन वडास्तरीय छलफल र तालिम सुरु भएका छन् । यस क्रममा वडा नं. ११ ले सामाजिक अगुवा, विद्यालयका शिक्षक शिक्षिका, टोल सुधार समिति तथा उपभोक्ता समिति, क्लवसहितका संस्थाबाट प्रतिनिधि बोलाएर हैजा नियन्त्रणका लागि तालिम सञ्चालन गरेको छ ।
जनस्वास्थ्य तथा वातावरण संस्था (इन्फो) सँगको सहकार्यमा सञ्चालन गरिएको तालिममा पानीका स्रोत दुषित हुने कारण, दुषित बस्तुसँग मानिसहरुका सम्बन्ध र स्वच्छताका विषयमा प्रस्तुतिकरण र छलफल गरिएको थियो । तालिममा वडाका कार्यवाहक अध्यक्ष दिपेश राउतले, गएको वर्षहरुमा व्यहोरेको समस्या यो वर्ष व्यहोर्नु नपरोस् भनेर तालिम आयोजा गरिएको बताउनुभयो ।
यस्तै वडा सदस्य सरोज मुल्मीले, आवश्यकताका आधारमा हैजाजन्य विपद व्यवस्थापनको तयारी गरिएको जानकारी दिनुभयो । यस्तै वडा सदस्य आशा श्रेष्ठ रौनियारले, शंका लागेको पानी जाँच गर्ने प्रणाली वडास्तरमा उपलब्ध गराउन प्रयास हुने बताउनुभयो ।
महानगरपालिकाका प्रयासलाई समुदायको सहभागिताले नतिजामुखी बनाउने वडा सदस्य यशोमती परियारको भनाइ छ ।