काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधी उत्पादनमा विशेष पहल लिनुपर्ने बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्नुहुँदै उहाँले कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण रहेकाे बताउनु भएकाे हाे । उहाँले औषधी उत्पादनका लागि आवश्यक गृहकार्य गर्नसमेत प्रतिष्ठानलाई निर्देशन दिनुभयो ।
साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गर्नुभयो ।
चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको पनि उहाँले उल्लेख गर्नुभयाे ।