काठमाडौँ। ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षघात दिवस मनाइने गरिन्छ ।
एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ ।
मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षघात भनिन्छ ।
समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ ।
मानसिक तनाव, अनियन्त्रित खानपान, शारीरिक परिश्रमको कमीलगायत यसको प्रमुख कारण बनेको छ । आरामदायी जीवनशैली बिताउने, जसले गर्दा उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने गरेको छ ।