काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरुमा सूर्तीजन्य बस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताउनुभएको छ ।
विश्व सूर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा आजको कार्यपालिका बैठकमा उहाँले भन्नुभयो, ‘महानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको छ । धेरैले यसलाई अदालतको आदेशले रोकिएको भन्नुभएको छ । तर, हामीले अगाडि सारेको कार्यक्रम र अदालतले आदेश गरेको विषय फरक हो ।’ उहाँले विषय स्पष्ट पार्दै भन्नुभयो, ‘हामीले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने व्यवस्था गरेको हौँ । अदालतले गरेको आदेश प्याकेजिङ्सँग सम्बन्धित छ । फरक विषयलाई फरक रुपमा बुझ्नुपर्छ ।’
बैठकमा वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले, सचेतनाका लागि नियमति सन्देश प्रवाह आवश्यक रहेको बताउनुभएको थियो ।
दिवसको अवसर पारेर आज वडा नं. १० ले विद्यालयका विद्यार्थीहरु सहभागी गराएर प्रभातफेरी सञ्चालन गरेको छ । लाखेचौरबाट सुरु भएको प्रभातफेरी रत्नराज्य स्कूल, मध्यबानेश्वर, पुरानो बानेश्वर, सानो गौचरण क्षेत्रहुँदै वडा कार्यालय पुगेको थियो ।
प्रभातफेरीमा विद्यार्थीहरुले, धुमपानले ज्यान लिन्छ, सावधान भन्दै गीत गाउने तथा नारा लगाउने गरेका थिए ।
सूर्तीजन्य पदार्थको लतमा पुग्ने समयका बालबालिकालाई सूर्तीजन्यबस्तुको असरका बारेमा व्यवहारिक ज्ञान दिन विद्यार्थीहरुलाई प्रभातफेरीमा ल्याइएको वडाध्यक्ष रामकुमार के. सी. ले बताउनुभयो ।