
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद भरपर्दो उपचार पद्वति भएको बताएका छन्।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको नि:शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेद पद्वतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताएका हुन्।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मेलम्चीमा आयोजना गरेको स्वास्थ्य सिविरबाट सयौं स्थानियवासीले स्वास्थ्यलाभ लिन सक्ने बताउदै मन्त्री बस्नेतले सिविरमा उपचार हुन नसक्ने विरामीका लागि तालिम केन्द्रले किर्तिपुरमा नि:शुल्क उपचारको व्यवस्था गर्ने जानकारी दिए।
आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारका काम सुरु गरेको दावी गर्दै मन्त्री बस्नेतले विभिन्न रोगको उपचार स्थानिय स्वास्थ्य संस्थामै हुन सके जनताले उपचारकै लागि काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त हुने कुरामा जोड दिए।
कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्वतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या देखिएको बताए।